
काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताउनुभयो ।
यद्यपि सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उहाँको आशंका छ । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको पक्ष सकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ ।’
त्यस्तै, आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उहाँले बताउनुभयो ।
राष्ट्रियसभा सदस्य देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गर्नुभयो । उहाँले ७ वर्षे प्रावधान हटाउनु नहुने धारणा राख्नुभयो ।
देवकोटाले नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्