१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीनकुनेको कलसेन्टरमा प्रहरीको छापा, २० जना नियन्त्रणमा


2.483k
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

प्रहरी अधिकारीका अनुसार कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानूनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ ।

ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।