१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीतिले बैंकहरूको नाफा घटाउँछ : अध्यक्ष गोल्यान


247
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरूको नाफा घटाउने बताउनुभएको छ ।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपातलाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरूको अर्बौं रकम विना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरूको मुनाफा घटाउने अवस्था देखिएको बताउनुभएको हो । उहाँले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरूको लागत बढ्ने बताउनुभयो ।

अध्यक्ष गोल्यानले बैंकहरूमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताउनुभयो । उहाँले बैंकको सेयरहोल्डर र लगानीकर्तालाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताउनुभयो । उहाँले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको बताउनुभयो । मौद्रिक नीति निर्यातलाई अझ कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरू रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष गोल्यानले गत वर्ष १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताउनुभयो । उहाँले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक व्याजदर व्यवस्था गर्नु राम्रो देखिए पनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको बताउनुभयो ।