
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताउनुभएको छ ।
सोमबार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जान काँग्रेस सक्षम रहेको दाबी गर्नुभयो ।
महामन्त्री शर्माले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम रहेको बताउनुभयो । कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
महामन्त्री शर्माले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताउनुभयो ।
उहाँले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताउनुभयो ।
महामन्त्री शर्माले नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छौं, अब जित्नै पर्दैन भन्ने एक किसिमको संकुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत हटाउन आवश्यक रहेको बताउनुभयो ।
महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्