१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीतिले उत्साह जगाउन नसकेको वाणिज्य महासंघको ठहर


143
Shares

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ मौद्रिक नीतिप्रति असन्तुष्ट रहेको छ ।

महासंघले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका सम्बन्धमा आज आधिकारिक धारणा सार्वजनिक गर्दै नीतिले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेकोे जनाएको हो ।

मौद्रिक नीतिले करिब ८ महिना देखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सिर्जना गर्ने देखिएको उसको ठहर छ ।

गत बर्षभन्दा करिब ७ प्रतिशत विन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले बजारबाट तरलता प्रसोचन गर्ने र उपभोग न्युनिकरण गरि कर्जाको ब्याजदर बढाउने नीति लिएको देखिन्छ ।

विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपाय भन्दा पनि कर्जा नियन्त्रण गरि खर्च कटौति गर्नेतर्पm नीतिको रुझान देखिएको उसको विश्लेषण छ ।

उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम गर्ने, कोभिड १९ बाट अति प्रभावित व्यवसायलाई पुनरकर्जा सुविधा कायम राख्ने, साना उद्यमीलाई पुनरतालिकीकरणको सुविधा लगायतका प्रावधान स्वागतयोग्य भए पनि पूँजीको अभाव कम गर्ने ठोस उपाय नहुँदा निजी क्षेत्रलाई मौद्रिक नीतिले उत्साहित बनाउन नसकेको उसले जनाएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका ठोस उपाय नीतिले समेट्न नसकेको महासंघले जनाएको छ । संकुचित नीतिका कारण निजी क्षेत्रको लगानी पनि संकुचित हुने हुँदा बजेटले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण हुने महासंघको ठहर छ ।

तीन प्रतिशत रहेको अनिवार्य नगद मौज्दातलाई एक प्रतिशत विन्दुले बढाएर चार प्रतिशत पुर्याइएको छ । यसले करिब ५० अर्ब रुपैया केन्द्रिय बैंकमा भित्र्याउनेछ ।

यसैगरि वैधानिक तरलता अनुपातलाई पनि दुई प्रतिशत विन्दुले बढाउँदा थप रकम बैंकहरुबाट केन्द्रिय बैंकमा जानेछ । बैंकदर ७ प्रतिशतबाट साढें ८ प्रतिशत बढदा यसले ब्याजदर बढन प्रेरित गर्नेछ ।

ब्याजदर बढाउदा समेत निक्षेप बढन नसकेको सन्दर्भमा यी प्रावधानले कर्जाको ब्याजदर बढ्न मात्रै प्रश्रय पुग्नेछ ।

स्वीकृत ऋण समेत लगानीयोग्य रकमको अभावमा पाउन नसक्दा जलविद्युत, पर्यटन लगायतका परियोजनाको निर्माण पनि प्रभावित हुने प्रति महासंघले चिन्ता व्यक्त गरेको छ ।

कडा नीतिका कारण कर्जा महंगो भएपनि मौद्रिक उपकरणका माध्यमबाट मात्रै वान्छित सिमा भित्र मुद्रस्फितिलाई राख्न पनि सहज नदेखिने महासंघको बुझाइ छ ।

धेरै चासोका साथ हेरिएको शेयर बजारमा गरिएको संसोधनले साना लगानीकर्तालाई सम्बोधन गरेको पनि महासंघले जनाएको छ ।