६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रहरीले चोकचोकमा राखेका सीआरभी भ्यानको अवस्था दयनीय

साेही विषयमा सरकारले गुनासो नसुनेको प्रहरीकाे दुखेसो

871
Shares

काठमाडौं । प्रहरी मुख्यालयदेखि चौकीसम्मका प्रमुख फेरिंदा जनतालाई सुरक्षा दिने विषयमा विभिन्न प्रतिवद्धता सार्वजनिक हुने गर्छन् ।

भ्रष्टाचारप्रति शून्य सहनशिलताका विषय उठ्छन् । सुशासनको अध्याय सुरु भएको सूचना प्रवाह गरिन्छ । घण्टा हैन मिनेटभित्र अपराधिलाई कारबाहीको दायरामा ल्याउने संकल्प गाउँ, जिल्ला, क्षेत्र र केन्द्रको नेतृत्वले पटक-पटक दोहोर्याउँछ । तर आश्चर्य त के छ भने अपराधी पक्रिन प्रहरीले चोकचोकमा राखेको सीआरभी भ्यानको अवस्था हेर्यो भने प्रहरी प्रतिवद्धता पत्याउन कोही तयार छैन् ।

नेपाल प्रहरीले घटनास्थलमा छिटो भन्दा छिटो पुर्याउन खटाएको भ्यानको अवस्था हेर्यो भने अपराधको जरो किलो उखेल्ने प्रहरी प्रतिवद्धता चुट्किला भन्दा पर लाग्दैन । कवाडीखानामा लाने अवस्थाका भ्यान जनताको सुरक्षामा खटाइएका हुन्छन् । जुन सत्य प्रहरी स्वीकार्छ ।

तपाईले आफ्नो टोल बस्तीमा घुमिरहने प्रहरी भ्यान देख्नुभयो भने यसको कर्तव्य जनतालाई छिटो भन्दा छिटो शान्ति सुरक्षाको प्रत्याभूति दिनु हो । क्विक रेस्पोन्स भेहिकल अर्थात छोटकरीमा सीआरभी भनिने यो भ्यानमा प्रहरीको सानो युनिट नै हुन्छ । यस्तो कामको लागि खटाइएका सवारी साधन काठमाडौं ४२, ललितपुर १० र भक्तपुर १० गरी उपत्यकामा ६२ वटा छन् ।

राजधानीबाहिर पोखरा १० र विराटनगरमा १० गरी जम्मा मुलुकभरमा ८२ वटा छन् । सीआरभीको ड्युटी प्रहरी कर्मचारीका लागि अनुत्पादक क्षेत्र मानिन्छ । सोसफोर्स भएकाहरु त्यहाँ जान रुचि राख्दैनन् । प्रहरी प्रवक्ता संगठनभित्र कामका धेरै क्षेत्र भएकाले रुचि अलग-अलग हुनु स्वाभाविक भएको बताउनुहुन्छ ।

जनतालाई सेवा दिने परम दायित्व बोकेको प्रहरीको बाहन नै ठिक अवस्थामा नहुँनु र त्यहाँ खटिन प्रहरीको अरुचि रहनु शान्ति सुरक्षामा थपिएको जटिलता हो । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि पूर्वाधारका दृष्टिले प्रहरी सक्षम नै हुनुपर्छ। आफूहरुले यस विषयमा पटक-पटक सरकारसँग कुरा उठाएको प्रहरी बताउँछ ।

नयाँ सवारी साधन किन्न वर्षेनी राज्यको अरबौं खर्च हुने गरेको अवस्थामा जनताको प्रत्यक्ष जीवनसँग गाँसिएको विषयमा गरिएको ठट्टा लाजमर्दो मात्र हैन्, राज्यको साखमाथि नै प्रश्न हो ।