८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मरिण गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लाभग्राहीकाे घरमै पुगेर वितरण


156
Shares


सिन्धुली । सरकारले बैंकिङ प्रणाली मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता मरिण गाउँपालिकाले लाभग्राहीकाे घर-आँगनमा नै पुगेर वितरण गरेकाे छ ।

जसका कारण सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका लाभग्राहीहरुलाई सुविधा भएको हाे । साेही गाउँपालिकाले वडा नं १ मा खलंगास्थित वडा कार्यालयबाट सुरु गरेको सामाजिक सुरक्षा अब सबै वडाका घर दैलोमा नै पुगेर वितरण गरिने भएकाे छ। भत्ता पाउने जेष्ठ नागरिकले भने मरिण गाउँपालिकाका जनप्रतिनिधिहरुको कामको प्रशंसा समेत गरेका छन् ।

विगतका दिनमा सामाजिक सुरक्षा भत्ता लिन जादा टाढाको बाटो भएर कपिलाकोटमा रहको बैंकमा जानुपर्दा दुःख पाईएको, बैंकमा लाईनमा बस्नुपर्दा खाजा, खानाको पनि टुंगो नहुने गरेको बताउदै वडाबाटै घर आँगनमा भत्ता लिन पाउँदा स्थानीय सरकारले नागरिकको समस्या बुझेको लाभग्राहीहरुले बताएका छन् ।

वर्षायामको समयमा सामाजिक सुरक्षा भता लिने लाभग्राहीहरुको समस्यालाई ख्याल गरदै मरिण गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय कपिलाकोटको सहकार्यमा गाउँपालिकाका विविध वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान र उपाध्यक्ष बिमला माझी, प्रमुख प्रसासकीय अधिकृत ओमबहादुर दर्जी र राष्ट्रिय वाणिज्य बैंककको कर्मचारीहरु स्थानीय बासीन्दाहरुको घर दैलोमा पुगेका थिए ।

घर आँगनमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सामाजिक सुरक्षा भत्ता लिन बैंक नै पुग्नुपर्ने बाध्यता हटेकाे छ ।साथै वृद्धवृद्धा, असहाय र अपांगता भएका व्यक्तिहरूले दिनभर हिड्नुपर्ने अवस्थाकाे समेत अन्त्य भएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभएकाे छ ।