६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीकाे मधुगंगा मेलामा भक्तजनको घुइँचो


286
Shares


सिन्धुली । साउन महिना लागेसँगै सिन्धुली जिल्लामा अवस्थित प्रशिद्ध मधुगंगा महादेव स्थानको मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

दुधौली नगरपालिका वडा नं २ मा अवस्थित ऐतिहासिक तथा प्रशिद्ध धार्मिक तिर्थस्थल मधुगंगा महादेवलाई जल चढाई मेला भर्न श्रावण महिनाभर यसपाली लाखौं भक्तजनहरु सहभागी भइरहेका छन् ।

साउन महिनाको सुरुदेखि लागेको सो मेलामा नेपालका सिन्धुली, महोतरी, धनुषा, सिरहा सप्तरी,रौतहट,सलाही, बारा, पर्सा, नेपालका तराई-पहाड, छिमेकी मित्रराष्ट्र भारतको बिहार क्षेत्रका पटना र सीतामढी लगाएतका विभिन्न स्थानका भक्तजनहरुको व्यापक सहभागिता रहने गरेको छ ।

श्रद्धालु भक्तजनहरु वीपी राजमार्ग र मदन भण्डारी राजमार्ग हुँदै मधुगंगा महादेवलाई कमलानदीको जल चढाई पूजा अर्चना गरे मनोकांक्षा पूरा हुने जनविश्वासले हरेक वर्ष सो स्थानमा मेला भर्न आउने गरेका छन् । चुरेभावर जंगलमा करिब ३ सय वर्ष भन्दा पूरानो प्राचीन तथा ऐतिहासिक मधुगंगा महादेवस्थानको धार्मिक महिमा र महत्व अत्यन्त पुरानो रहेकाले हरेक वर्ष भक्तजनहरुरुको घुइँचो हुने गर्छ ।

मधुगंगा महादेवस्थान प्राकृतिक सुन्दरताको दृष्टिले समेत अत्यन्त रमणीय भएकाले धार्मिक तथा पर्यटकीय रुपमा विकास गर्न सके सिन्धुली जिल्लाको आन्तरिक पर्यटनमा विकासमा समेत टेवा पुग्ने देखिन्छ ।