२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कमसल निर्माण सामग्री र उपमहानगरको उपेक्षाले धनगढीको कनरी पार्क अलपत्र


104
Shares

कैलाली । धनगढीको कनरी पार्क अलपत्र परेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर–१५ मा झण्डै २ वर्षअघि उद्घाटन भएको पार्क सञ्चालनमा कुनै योजना बन्न नसक्ता पार्क अलपत्र परेको हो ।

उद्घाटन गरेको छोटो समयमै पार्कभित्र बनाइएका संरचना टुट–फुट भएर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ । यसको संरक्षणमा उपमहानगरले चासो नदिँदा भएका संरचना समेत भत्किन थालेका छन् ।

संघीय सरकारको पौने तीन करोड रुपैयाँको लगानीमा निर्माण भएको पार्कको यस्तो हविगत भएपछि स्थानीयले पार्क संरक्षण गरिदिन सरकारसँग माग गरेका छन् ।

तत्कालिन मेयर नृपबहादुर वडले कनरी पार्क सबैका लागि खुला भएको भन्दै गुरु योजना अनुसार थप व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको थियो ।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सघन सहरी विकास कार्यक्रम अन्तरगत कनरी पार्क निर्माण गरेको थियो ।

दुई करोड ७४ लाख रुपैयाँमा पार्क निर्माण भए पनि अवस्था दयनीय बन्दै गएको चौकीदार बिजेन्द्र धामी बताउनुहुन्छ ।

१२ बिगाहा क्षेत्रफलमा रहेको पार्क अलपत्र परेपछि सरकारको करिब पौने ३ करोड रुपैयाँ बालुवामा पानी हालेझैं भएको छ । पार्क निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको थियो ।

एकातर्फ निर्माण कम्पनीले कमसल सामान प्रयोग गरेको छ भने अर्कातिर उपमहानगरले उपेक्षाले पार्क हेरिसाध्य भएको छैन । पार्क अलपत्र भएपछि राज्यको सम्पति सकिनु बाहेक कुनै उपलब्धी नभएको स्थानीयको गुनासो छ ।

धनगढी उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आए पनि पार्कको बारेमा ध्यान पुग्न सकेको छैन । उपमहानगरकी उप–प्रमुख कन्दकला रानाले पार्क स्थलगत अवलोकन गरे पनि संरक्षणको काम अघि नबढाइएको बताउनुहुन्छ ।

जनप्रतिनिधिले चौकिदारलाई पारिश्रमिक दिइरहने तर पार्कको अवस्थाबारे जानकारी नै नलिनुले पनि पार्कको संरक्षण हुन सकेको छैन ।

त्यसैले धनगढीको मुख्य गहनाको रूपमा रहेको यो पार्कको संरक्षण गरी व्यवस्थित रूपमा अगाडि बढाउन सके साच्चै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने थियो ।