
काठमाडौं । सुन्धाराको बीचमा पर्ने तलेजु मन्दिर ठूल्ठूला अग्ला भवनहरूको कंक्रिटको जंगलभित्र गुमनाम जस्तै भएको छ ।
कुनै समय यो मन्दिर तन्त्र साधना गर्ने महत्वपूर्ण स्थल थियो । तर, अहिले शहरको बीचमा हराएको छ ।
चोकको बीचमा तलेजु मन्दिर छ । यहाँ कलात्मक आँखा बनाइएका तीन वटा ढोका समेत रहेका जीर्ण भवनहरू छन् । यसमध्ये पनि बिचमा रहेको ढोकाको इतिहास रोचक छ ।
करिव दुई सय वर्षअघि तान्त्रिक राजकुमार उपेन्द्र वीरविक्रम शाह यो ढोकाभित्र प्रवेश गरेको इतिहास छ ।
राजा सुरेन्द्र वीरविक्रम शाहका दाजुभाइमध्ये उपेन्द्र माइला भएका कारण ‘माइला साहेबज्यू’ का नामले परिचित थिए । उनी तन्त्रविद्यामा पोख्त थिए ।
तन्त्र विद्या कै सहारामा उनले देवीदेवतालाई ‘पासा’ खेल्न तलेजु भवानीको मन्दिरमा बोलाउँथे भन्ने जनविश्वास रहिआएको छ । तन्त्रविद्यालगायत सम्पूर्ण रहस्यमय कार्य यही कोठाभित्र गर्ने जानकार बताउँछन् ।
करिव दुई सय वर्षअघि कोठाभित्र छिरेका उनी त्यसपछि कहिल्यै बाहिर ननिस्किएको बताइन्छ । ढोका भित्रबाट बन्द गरिएको अवस्थामा छ । बाहिर कुनै चुकुलसमेत छैन । ढोका अहिले पनि रहस्यको गर्भमा नै छ ।
तीन तले तलेजु मन्दिर पनि १९९० सालको भुइँचालो पछि एकतलेमा सीमित भएको छ । हालसम्म पनि पुन निर्माण र जिर्णोद्वार हुन सकेको छैन । बाघ गुथी अन्तर्गत रहेको मन्दिरको उत्तरमा गणेश, पूर्व र पश्चिममा भैरव र दक्षिणमा भगवतीको मूर्ति रहेका छन् ।
अन्य मूर्तिहरू संरक्षणको अभावमा छरपस्ट रहेका छन् । भवन जीर्ण अवस्थामा पुगेको छ भने मन्दिर परिसर पुरै झारपातले ढाकेको छ । हेटौंडाका प्रविण घिमिरे यस्ता पुरातात्विक र ऐतिहासिक सम्पदा संरक्षण हुन नसकेकोमा दुःखी छन् ।
नेपालको कुनै पनि कुनामा रहेका सम्पदा संरक्षणमा चासो दिनु सबै नेपालीको दायित्व रहेको उहाँको भनाइ छ ।
रहस्यमयीे तान्त्रिक ढोकाको अनुसन्धान र तलेजु मन्दिरको संरक्षण गर्न आवश्यक भइसकेको छ । साथै, अर्बौं मूल्य बराबरको जग्गा भएको मन्दिर परिसर र गुथी अन्तरगतको जग्गा भूमाफियाको वक्रदृष्टिबाट बचाउन पनि आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्