
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद्को आगामी बैठकले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गर्ने बताउनुभयो ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई आग्रह गरेको छ ।
यसैबीच, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । गत बैशाखमा भएको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको सन्दर्भमा नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ निकासा भएको थियो । त्यसमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, ७५३ वटै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको छ । ७७ वटा निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।
गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च ४ करोड ५० लाख र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत (मिडिया अनुगमन लगायत अन्य शिक्षा सामाग्रीको प्रचार प्रसारका लागि) १ करोड ४५ लाख खर्च भएको आयोगले जनाएको छ । आयोगसँग बाँकी रहेको ३ अर्बभन्दा बढी रकम सरकारलाई फिर्ता गरिने आयोगका प्रवत्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्