
सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा जनता आवासबाट गत आर्थिक वर्ष १ सय २२ घर निर्माण भएको छ ।
सरकारको अनुदानमा ती घर निर्माण भएपछि वर्षाैंदेखि झुपडीमा बस्दै आएका अति पिछडिएका मुसहर समुदायका परिवार यतिखेर पक्कि घरमा बस्न पाएका हुन् । यसअघि जीवनको अन्तिम उमेरसम्म सधै नै हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै असुरक्षित रुपमा झुपडीमा बस्दै आएका मुसहर समुदायमा जनता आवास कार्यक्रमबाट पक्की घर पाएपछि ती सबै समस्याबाट मुक्त भएका छन् ।
सिन्धुली जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष दुधाैली नगरपालिकाको वडा नं. ६ मा ३२ घर, वडा नं. ७ मा ३३ घर, वडा नं. ८ मा २७ घर र वडा नं. ११ मा ३० घर गरी मुसहर समुदायकको एकीकृत १ सय २२ घर निर्माण भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।
सोही कार्यालयका अनुसार गत आर्थिक वर्ष ती घर निर्माण गर्न ३ करोड ६६ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ ।
सिन्धुली जिल्लामा आर्थिक वर्ष ०७५/०७६ देखि जनता आवास कार्यक्रम सुरु भएको र हालसम्म ४ सय ९२ घर निर्माण भइसकेको एक तथ्यांकले देखाएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत प्राथमिकतामा परेका डुम, दलित, लोपोन्मुख, सीमान्तकृत र अति विपन्न वर्गका समुदायका छनौट भएका र त्यस्ता लाभग्राहीको घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बताउनुभएकाे छ ।
सोही कार्यक्रम अन्तर्गत निजी आवास निर्माणका लागि दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ मा गरी ५ सय २५ र तीनपाटन गाउँपालिकामा ६ सय ३० जना लाभग्राही छनौट भएका छन् । तीनपाटन गाँउपालिकामा भने घर निर्माण गर्न बाँकी रहेको छ । दुधौली नगरपालिकामा अझै ३३ जना लाभग्राहीको आवास निर्माण गर्न बाँकी रहेको देखिएको छ ।
दुई कोठाको प्रत्येक घरमा दुई वटा ढोका र दुई वटा झ्याल रहेका छन् । एक परिवारका लागि त्यसखाले एउटा घर निर्माणका लागि संघीय सरकारबाट ३ लाख ३६ हजार रुपैयाँ सहयोग हुने र सम्बन्धित लाभग्राहीले श्रमदान गर्नुपर्ने व्यवस्था रहेको हुन्छ।
प्रतिक्रिया दिनुहोस्