
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ३ सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच आज (बुधबार) देखि सुरु भएको छ ।
वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराई गरी आएका थिए । त्यति बेलादेखि नै बेनीमा बर्खेनाच देखाउने परम्परा बसेको हो । प्राचीन समयमा समाजमा खलपात्रको रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसकोप्रतिक बनाई त्यसलाई बध गरेर (मारेर) कालिगण्डकीमा विसर्जन गरेसँगै एक महिने बर्खे नाच सुरु भएको हो ।
नेपाल भाषा मंकाः खलको आयोजनामा मंगलबार संगमचोकबाट तीनखुट्टे राक्षसको प्रतिकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालिगण्डकी नदीमा विर्सजन गरिएको थियो । घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सु्रु हुने नेपाल भाषा मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयाे। अध्यक्ष श्रेष्ठले भन्नुभयाे, ‘मंगलबार घण्टाकर्णको बध गरी कालिगण्डकीमा विर्सजन गरियो, बुधबारदेखि बर्खेनाच सुरु भएको छ।’
बर्खेनाच अन्तर्गत लाखेनाच, रोपाइँ नाच, घोडानाच, नागानागिनी नाच, श्रीकृष्ण र रथयात्रा, हनुमान नाँच आदि पर्दछन् । तर, पछिल्लो समय कलाकारहरुको अभावमा हनुमान नाच देखाउन छाडिएको छ । बर्खे नाचमा मंकाःखल अन्तर्गतको युवा संगठन ल्यामपुचले आवश्यक तयारीसहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । जनशक्तिको अभावका कारण हनुमान नाँच, रोपाइँ लगायतका केही नाचहरु सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा नागानागिनी नाच निकाल्ने चलन छ । समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसकी पत्नीले देखाउने चरित्रलाई बर्खे नाच मार्फत प्रदर्शन गर्ने मंकाः खलका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयाे । घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।
बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनी बजारमा यसको महत्व धेरै रहेको छ । बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो। बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाेबास गर्ने क्षेत्री, ब्राह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् । सदरमुकाम बेनी बजारमा ३ सय वर्ष पहिले मानव बस्तीको विस्तार भएदेखि नै बर्खे नाच सुरू गरिएको बताइएकाे छ ।
बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्