
काठमाडौं । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् ।
सिंगापुरमा रहेका राजापाक्षे स्वदेश फर्किन लागेको श्रीलङ्काका एक सांसदले बताएका छन् ।
सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मंगलबार पत्रकारहरूमाझ राजापाक्षे लुकेर बनसेको बताए । यद्यपि उनले आफूलाई पनि फर्कने ठ्याक्कै मिति भने थाहा नभएको बताए ।
आर्थिक संकटलाई लिएर राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास नै कब्जा भएपछि राजापाक्षे श्रीलङ्काबाट भागेका थिए ।
उनले देशमा ठूलो आर्थिक घोटाला गरेको प्रदर्शनकारीहरू आरोप छ । उनले गरेको आर्थिक घोटाला र वित्तीय दुरुपयोगले अत्यावश्यक वस्तुहरूको मूल्य आकाशिएको उनीहरूले बताएका छन् ।
श्रीलङ्काबाट १३ जुलाईमा माल्दिभ्स भागेका राजापाक्षे १४ जुलाईमा सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेलगत्तै उनले राजीनामा बुझाएका थिए, जसलाई १५ जुलाईमा बसेको मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको थियो ।
राजापाक्षे पत्नी र दुई अंगरक्षकसहित सिङ्गापुर गएका थिए । राजापाक्षेले आफूहरूसँग शरण नमागेको सिङ्गापुर सरकारले जनाएको छ ।
सुरुमा राजापाक्षेलाई सिङ्गापुरमा बस्न १४ दिने भिसा दिइएको थियो भने अब १४ दिनका लागि फेरि थपिएको सिंगापुरको स्थानीय मिडियाले जनाएका छन् ।
सिङ्गापुरले १४ दिनको भिसा थपेसँगै उनको सम्भावित योजनाको बारेमा अड्कलबाजी चलेको छ । कतिपयले उनी युनाइटेड अरब इमिरेट्स (युएई) जानसक्ने बताएका छन् ।
यद्यपि ब्लुमबर्ग समाचार संस्थाले श्रीलंकाका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै राजापाक्षे कोलम्बो फर्कन इच्छुक रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्