
एजेन्सी । दक्षिण भारतीय तेलुगु फिल्मको छायांकन अगस्ट १ देखि रोकिने भएको छ ।
उद्योग पुनर्संरचनाका लागि भन्दै तेलुगु फिल्म निर्माताहरूले अगस्ट १ देखि सबै फिल्मको छायांकन रोक्ने निर्णय गरेका हुन् ।
कोभिडका कारण फिल्म उद्योगलाई ठूलो नोक्सान भएको र लगानी अनुसारको मुनाफा नभएको भन्दै यस्तो निर्णय लिइएको फिल्म निर्माता गिल्डले बताए ।
फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको निर्माता गिल्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फिल्म हलहरूले आफूहरूलाई दिने शेयरको अनुपात बढाउनुपर्ने उनीहरूको माग छ । फिल्म निर्माणको बढ्दो लागत र आम्दानीको अवस्था परिवर्तन हुने ग्यारेन्टी नभएसम्म सबै छायांकन रोकिने उनले बताए ।
‘स्वस्थ वातावरणमा फिल्म रिलिज होस् भन्ने सुनिश्चितता गरौं, हाम्रो उद्योग र प्रणालीलाई बलियो र राम्रो बनाउने जिम्मेवारी हाम्रो नै हो,’ निर्माता गिल्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैलाई लिएर उद्योगका सबै निर्माताहरूले स्वेच्छिक रूपमा अगस्ट १, २०२२ देखि छायांकन बन्द गर्ने निर्णय गरेका छौं ।’
यसबाहेक, निर्माताहरूले सिनेमा हलमा फिल्म रिलिज भएको १० हप्तासम्म कुनै पनि नयाँ फिल्म ओटीटी प्लेटफर्ममा रिलिज नगर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्