१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१ कराेडकाे लगानीमा इलाममा कालिज फार्म


338
Shares

इलाम । पर्यटकीय दृष्टिकोणले इलाम नगरीको रूपमा विकास हुँदै गर्दा यहाँका व्यवसाय पनि फस्टाउँदै गएका छन् ।

झापाको सीमा कटेपछि मेची राजमार्ग हुँदै झण्डै ५ किलोमिटर छिचोलेपछि टिकाराम गुरुङको परिवारले सञ्चालन गरेको कालिज फार्म पुगिन्छ ।

इलामको रोङ्ग गाँउपालिकाको कोल्वुङमा व्यवसायिक फर्म खोलेर उहाँले कालिज पाल्न सुरु गर्नुभएको हो । नौलो व्यवसायको रूपमा पूर्वमा नै पहिलो पटक ३ वर्षअघि उनीसहितका युवाहरूले फार्म सुरु गरेका हुन् ।

२ रोपनी क्षेत्रफलमा ट्रष्ट र जाली लगाएर पालिएको कालिजको बजार अहिले फस्टाउँदै गएको छ । त्यसमा पनि कालिजको अण्डा अहिले बजारमा धेरै खपत हुने गरेको व्यवसायी गुरुङ बताउनुहुन्छ ।

वन कार्यालय र आवश्यक सवै निकायबाट अनुमति लिएर थालिएको कालिज फार्म यहाँका लागि नौलो हो । पोखराबाट चल्ला ल्याएर उनीहरूले सुरु गरेको फार्ममा अहिले धेरै मानिस अवलोकनका लागि पुग्छन् ।

झण्डै १ करोड रुपैयाँको लागानीमा फार्म सुरु गरेका उनीहरूको यहि फार्मबाट राम्रो आम्दानी हुन थालेको छ । कालिजको चल्ला १ हजारदेखि १५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने ठूलो कालिज ३ हजार रुपैयाँसम्ममा विक्री हुन्छ ।

बयस्क कालिजबाट उत्पादन भएको अण्डाबाट चल्ला निकाल्ने गरिएको छ । जोखिम कम हुने र बजारको समस्या समेत नरहेकाले व्यवसायबाट सन्तुष्ट रहेको व्यवसायी टिकाराम गुरुङको भनाइ छ ।

नयाँ व्यवसायको रूपमा कालिज पाल्नेको संख्या बढ्दै गएको छ । मेहनत, लगानी र निरन्तरता दिनसक्दा आफ्नै ठाउँमा आम्दानीको स्रोत खोज्न सकिन्छ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन् ।

तर, स्वदेशमै केहि गरौं भनेर व्यवसायमा लागेकालाई सरकारी निकायले प्रोत्साहन नगर्दा भने उनीहरूलाई समस्या पर्ने गरेका छन् ।