२४ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025


खोरुङ्वा खोलाको किनारले धानेकाे चुँदारा पेशा


1.976k
Shares

तेह्रथुम । बगि रहेको खोरुङ्वा खोलाको किनार । थाकै थाक लगाइएका यस्ता काठका मुढाहरू । काठका मुढा र औजारहरूसँग खेल्दै गरेका ज्यामीहरू ।

हरेक दिनको उज्यालोसँगै झिसमिसेसम्म पैठेजोरी खेल्नु उनीहरूको दैनिकी हो । आफ्नो श्रम र मेहेनतमा रमाउनु उनीहरूको काम हो । केहीथान झम्पलहरू । सबैलाई धारिलो छिनाहरूले काठ खोप्न भ्याईनभ्याई देखिन्छ ।

विगत २० वगर्षदेखि यसरी काठसँगै आफ्ना सपना खोपी रहेका छन् आठराई त्रिवेणी गाउँपालिका–५ ताप्लेजुङका कुमार विक । उनले तेह्रथुमको खोरुङ्वा खोलाको किनारमा काठका सामाग्री बनाउँदै आएको धेरै भयो ।

पछिल्लो समय काठको सामग्री बनाउने चुँदारा पेशा लोप भइरहेको बेला विकको भने आम्दानीको गतिलो श्रोत नै यहि हो । खोलामा बगेको पानीले मोटर चलाउँदै काठ कुँदिरहेका हुन्छन् कुमार । उनी काठ कुद्ने कलामा जिल्लामै निपूर्ण मानिन्छन् ।

युवाहरू गाउँमा श्रम र मेहनत गर्न रुचाउँदैनन् । रोजगारको खोजीमा बजार केन्द्र र विदेशी भूमिमा पसिना बगाइरहँदा विकले भने स्वदेशमा नै विदेशको जत्ति आम्दानी लिँदै आएका छन् ।

होटलहरूमा विशेष गरी तोङ्वा बिक्री हुने गरेको छ । आकर्षक र राम्रा तोङ्वा तथा अन्य सामाग्री उत्पादन गर्दै आएका विकले स्थानीय बजारसँगै ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङमा र तराईसम्म निर्यात गर्दै आएका छन् ।

ग्राहकहरूले फोन मार्फत माग गर्ने गरेकाले बजारको अभाव नभएको उनी बताउँछन् । यहिबाट भएको आम्दानीले परिवार धान्न सहज भएको उनको भनाइ छ ।

विकले काठबाट बन्ने धेरै प्रकारका सामाग्रीहरू बनाउँदै आएका छन् । उनी तेल राख्ने चौथा, दूध जमाउने ठेकी, तोङ्वा, हसिया राख्ने खुर्पेटा, अन्य सामान राख्ने आरी जस्ता समाग्री बनाउने गरेका छन् ।

मेहनत गरे स्वदेशमा नै आम्दानी गर्न सकिने भएकाले सिप अभिवृद्धि गर्नको लागि सरकारले चासो दिनुपर्ने विक बताउँछन् । परम्परागत सीप, प्रविधि र कलाको आफ्नै विशेषता हुने भएकाले संरक्षणका लागि भए पनि परम्परागत प्रविधिमा नै काम गरेको उनी बताउँछन् ।