
एजेन्सी । नेपाली सेनाले प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा बुधबार भएको संयुक्त राष्ट्रसंघ विरुद्धको प्रदर्शनका क्रममा १५ जनाको मृत्यु भएपनि नेपाली भने सुरक्षित रहेको जनाएको छ ।
मृत्यु हुनेमा ३ जना शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिक छन् । कंगोमा शान्ति स्थापनार्थ तैनाथ संयुक्त राष्ट्रसंघको (मोनुस्को) मिसनको विरोधमा स्थानीय जनताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।
गत सोमबारदेखि सुरु भएको प्रदर्शनको दोस्रो दिन हिंसात्मक घटना हुन पुगेको हो । उक्त मिसनमा नेपाली शान्ति सैनिक समेत खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त मिसनमा तैनाथ नेपाली शान्ति सैनिक र पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी दिनुभएको हो । साथै, उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिट तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न भनिएको सहायक रथी सिलवालले बताउनुभयो ।
स्थानीयको आक्रमणमा परी ज्यान गुमाउने शान्ति सैनिकमध्ये २ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सदस्य रहेका जनाइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले उनीहरुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कंगोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्