१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणहिटी संग्रहालयमा राखिए त्रिभुवन र महेन्द्रले चढेका तीन गाडी


208
Shares

काठमाडौं । नारायणहिटी संग्रहालय घुम्न आउने दर्शकको आकर्षण के होला ?

कोही राजा वीरेन्द्रको सम्पूर्ण परिवार हत्या भएको खुल्दुली मेट्न त कोही राजपरिवारको दैनिकी, खानपानसँगै सिंगो जीवनशैलीको उत्सुकता मार्न पुग्छन् ।

संग्रहालय प्रशासनले हरेक तह र तप्काका दर्शकको रुचिअनुसार संग्रहालय व्यवस्थित बनाउँदै लगेको छ ।

विरुवा बनस्पतिले हरियाली धारणा गरेको यो महिनामा देशकै गरिमामय नारायणहिटी संग्रहालयलाई चिटिक्क बनाउने अभियान थालिएको छ ।

मुलुकको राजनीतिक इतिहासको एउटा कालखण्डको प्रतिनिधित्व गर्ने यो थलोलाई विविधिकरणको आयाम दिन यतिबेला पूर्वराजाले उपयोग गरेका तीनवटा गाडी अवलोकनमा राखिएको छ ।

राजाले प्रयोग गरेका यी निजी गाडीको वषौंदेखि नारायणहिटीको पश्चिम क्षेत्रको एउटा ग्यारेजमा थन्किएर रहेका थिए ।

जताततै धुलो अनि जीर्ण अवस्थामा पुगेका इतिहासका साक्षी मानिने नासोलाई अहिले चिटिक्क पारेर अवलोकन कक्षमा राखिएको छ ।

इन्टरनेशन लेखिएको यो गाडी राजा त्रिभुवनले विक्रम संवत १९६७ मा बेलायतबाट झिकाउनुभएको थियो । वनभोजका लागि जानुपर्दा यो गाडी प्रयोगमा आउँथ्यो ।

गाडीमा झुन्डिएको साँचो जस्ताको जस्तै थियो । प्रदर्शनीमा राख्नुअघि र पछिको यो दृश्यमा आकासपातालको फरक देखिन्छ ।

प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । आफ्नो कार्यकालमा राजा महेन्द्रको धेरै प्रयोग गरेको यो गाडी मर्मत सम्भारको कमीमा दिनानुदिन जीर्ण बन्दै गएकोमा यस्ले पनि नयाँ स्वरूप पाएको छ ।

यस्तै, पिकअप ट्रक पनि प्रदर्शनीमा राखिएको छ । यसलाई राजा त्रिभुवनको निजी ट्रक भनिथ्यो । जुन शिकारको प्रयोगमा ल्याइन्थ्यो ।

भीमफेदीबाट राजा त्रिभुवनले कामदार लगाइ बोकाएर ल्याएको ट्रक यहाँको अर्को आकर्षण हुनेछ । नम्बर प्लेट नभएको यो ट्रकको अगाडि २ र पछाडिको भागमा ६ जना बस्न मिल्ने डिजाइनमा बनेको हो ।

यसअघि राजपरिवारका अन्य सदस्य चढ्ने गरेका अरु गाडी प्रदर्शनीमा राखिसकिएको छ । जुन संग्रहालयको मुुख्य आकर्षण बनेको छ ।

यी अमूल्य निधिलाई इतिहासको साक्षी र पछिल्लो पुस्ताका लागि खुल्ला पुस्तकालयका रूपमा विकास गर्न गरिएको प्रयास स्तुत्य छ ।