
काभ्रे । काभ्रेमा ९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रे जिल्लाका ६ जना, काठमाडौं, दोलखा र सिन्धुपाल्चोकका १/१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
काभ्रेको धुलिखेल नगरपालिकामा ३ जना, पनौती नगरपालिकामा २ जना र बनेपा नगरपालिकामा एक जनामा संक्रमण देखिएको छ ।
गत वर्ष अन्य जिल्लाबाट आउने ५ जनामा संक्रमण देखिएपनि स्थानीयमा भने पहिलोपटक डेँगुको संक्रण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले जानकारी दिनुभयो ।
संक्रमित मध्ये एक जनाको केएमसी अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ ।
जिल्लामा डेंगुको संक्रमण बढ्दै गएपछि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान नै सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा संक्रमितको घरमै पुगेर सोधपुछ गरिरहेको छ ।
लामखुट्टे विशेषगरी जमेको सफा पानीमा बस्छ । संक्रमितहरूमा ज्वरो आउने, शरीरमा डाबर आउने लगायतका लक्षण देखिएको छ ।
वर्षाको समय भएकाले अझै २ देखि ४ हप्ता डेंगुको उच्च जोखिम रहेको डाक्टर सेढाइले बताउनुभयो । घरवरिपरि पानी जम्ने भाँडा र खाल्डाखुल्डी नराख्न तथा सरसफाइमा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्