१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदैछु : मन्त्री चौधरी


1.352k
Shares

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएवापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताउनुभएको छ ।

बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रश्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताउनुभएको हो ।

उहाँले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताउनुभयो ।

उहाँले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उहाँले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताउनुभयो । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि यस अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताउनुभयो ।

उहाँले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताउनुभयो ।

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि मन्त्रालयले असार महिनामा मात्र २७ प्रतिशत बराबर वित्तिय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड अर्थात् झण्डै ७० प्रतिशत खर्च भएको भएको बताउनुभयो । मन्त्री चौधरीले मन्त्रालयको असार महिनामा मात्रै २६ दशमलब ८ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गर्नुभयो ।