१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न रोक


351
Shares

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न नदिने भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर सम्बन्धित स्थगानीय तहमै व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले घोषणा गरेको भन्दै सरोकारवाला समितिले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने भन्दै पत्रकार सम्मेलन गरेको छ ।

समितिका अध्यक्ष श्रीराम ढुंगानाले मेयर शाहको काठमाडौंको फोहोर आफैं व्यवस्थापन गर्ने योजना साकार बनाउन बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने निर्णय गरेको बताउनुभयो । उहाँले विगतका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने सवालमा कुनै चासो नदिइएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताउनुभयो ।

सम्झौतामा जग्गा प्राप्ती र गुठी जग्गाको र मध्यवर्ती क्षेत्रको विषयमा समावेश भएपनि कार्यान्वयन नभएको उहाँको भनाइ छ । अध्यक्ष ढुंगानाले फोहोर मैला प्रशोधन प्लान्ट बन्चरेडाँडामा स्थापना गर्ने भनिएपनि मेयर शाहले काठमाडौंभित्रै खोल्ने र हरेक वडामा स्थापना गर्ने निर्णय गरेकाले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने पनि बताउनुभयो ।

सरोकारवाला समितिले बन्चरेडाँडामा फोहोर विसर्जन नगरेर फुटबल ग्राउन्ड बनाउनुपर्ने आग्रह गरेको छ ।