
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय, धार्मिक, विद्यालय र अस्पतालहरूमा निःशुल्क वाइफाइ जडान गर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले आगामी दिनमा नयाँ नीति र कार्यक्रम अनुसार मन्त्रालय अगाडि बढ्ने बताउनुभयो ।
मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताउनुभयो । उहाँले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एशियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको बताउनुभयो ।
मन्त्री कार्कीले सञ्चार क्षेत्रको विकास गर्न सबैको जिम्मवारी रहेको भन्दै जिम्मेवारीबाट कोही पनि पछि हट्न नहुने बताउनुभयो । उहाँले सरकार सूचना र सञ्चार क्षेत्रको विकास गर्न सधैँ तत्पर रहेको जिकिर गर्नुभयो ।
मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा विस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । उहाँले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गर्नुभयो ।
मन्त्री कार्कीले सरकारले चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरू, धार्मिक क्षेत्रहरू, विद्यालय र अस्पतालहरूमा निःशुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा रहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
मन्त्री कार्कीले नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभए पनि कार्यान्वयनको समस्या रहेको बताउनुभयो । मन्त्री कार्कीले आगामी १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानको लागि हानाथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गर्नुभयो ।
सञ्चार मन्त्री कार्कीले सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमितामा राखेर अगाडि बढेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्