
अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका–४ वाङ्गलामा जिजुबाजेले प्रयोग गरेका सामग्री संरक्षण गर्न बैकुण्ठपुरी संग्रहालय स्थापना गरिएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व सभापति निमबहादुर रिजालको सक्रियतामा संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामग्रीहरू राखिएको छ ।
संग्रहालयमा अहिलेका पुस्ताले नदेखेका सामग्रीहरू कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, ओखल, ठिकी र विभिन्न जात जातका विरुवा लगायतका दर्जनौं वस्तुहरू राखिएका छन् ।
यस्तै, पानी आउदा ओड्ने सिउ, धर्मशालामा राखिएको आरी, डाला, तमाखु खादा प्रयोग गरीने हुक्का बाँसको काइयो पुराना टेप, रेडियो, भजनमा गाउन प्रयोग गरिने खैजडी लगायतका सामाग्री राखिएको छ ।
संग्रहालय स्थापनासँगै आन्तरिक पर्यटकको संख्या बढ्दै गएका छन् । जसले संग्रहालय आसपासका व्यवसायी खुसी छन् । सदरमुकाम सन्धिखर्कदेखि ७ किलोमिटर क्षेत्रमा रहेको यहाँ बिदाको दिनमा अझ बढी पर्यटक आउने पूर्व सभापति निमबहादुर रिजाल बताउनुहुन्छ ।
संग्रहालय क्षेत्रमा होमस्टेको काम पनि अन्तिम चरणमा पुगेको छ । विभिन्न जातजातीले लगाउने पोशाक रहेकाले पोशाक लगाएर नाच्ने गाउनेहरूको लागि पनि व्यवस्था गरिएको छ । संग्रहालय लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
विभिन्न मुर्ति, गाउँघरमा खेलिने पिङ, सभाहल लगायतका काम पनि अन्तिम चरणमा पुगेका छन् । न्यूनतम टिकट शुल्क लिएर प्रवेश दिइने संग्रहालयमा हाल ३ जनाले रोजगारी पाएका छन् । तर, स्थानीय सरकारले साथ नदिएको रिजालको गुनासो छ ।
गाउँघरमा कतै–कतै भेटिने यस्ता सामग्री पुर्खाले आफ्नो सीप र ज्ञानबाट बनाइएको बैकुण्ठपुरी संग्रहालय संरक्षणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्