२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतमा पहिरोले ४ घरपरिवार विस्थापित, सिंगो बस्ती नै जोखिममा


689
Shares

पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

पहिरोका कारण करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हाे । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासीन्दा समेत त्रसित भएका छन् । करिब २ सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार घरपरिवारले घरै छाडेका वडा अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् । त्यस्तै आपसापका ६४ परिवार रहेको बस्ती पहिरोको प्रत्यक्ष जोखिममा परेकाे छ । पहिरोका कारण गाउँमा विद्युतका पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन् ।

दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शंकर सुवेदीले बताउनुभयो । विद्युतको तार घरमा आएर करेन्ट लाग्ने होकी भन्ने त्रासले राति घरमा बस्न नसकिएको उहाँले बताउनुभयो । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीकाे धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउनुभयो ।

‘अघिल्ला वर्षमै धाँजा फाटेको थियो,’ अध्यक्ष रामचन्द्र सुवेदीले भन्नुभयो, ‘अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०–६५ परिवार विस्थापित हुनुपर्नेछ ।’

नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन । पहिरोले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल, सञ्जय लामिछाने, विद्युत प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली र भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापा लगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमन पश्चात् प्राविधिकको टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत प्राधिकरणका पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युतका पोल फेर्न सुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिरो खसेको स्थानमा ३ वटा पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ। ‘बाँकी दुईवटा हटाउनुपर्ने छ ।’ गत वर्ष जस्तो ठूलो वर्षा नभएपनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।