
सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्न थालेको छ ।
एक आर्थिक वर्षभित्र मात्र ५४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा अदालतमा दर्ता भएका कुल २ सय ७४ वटा मुद्दा मध्ये सबै भन्दा बढी ५४ थान सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।
दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये ४० वटा फैसला भईसकेका छन् भने १४ वटा चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको छ । दोस्रो बढीमा जबरजस्ती करणीका ४० वटा मुद्दा दर्ता भएको छ । जसमा २६ थान फैसला भइसकेका छन् भने १६ थान बाँकी रहेको अदालतको तथ्याङ्क छ । सोलुखुम्बु जिल्ला अदालतले गत आर्थिक वर्षमा ६६ प्रतिशत मुद्दा फैसला गरेको थियाे ।
कुल २ सय ७४ वटा मुद्दा दर्ता भएकोमा १ सय ८१ वटा अर्थात ६६ प्रतिशत किनारा लगाइएको र ९३ थान जिम्मेवारी सरेर आएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ४२ वटा मुद्दामा पनि १ सय २५ थान गत आर्थिक वर्षमा फैसला भएको उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्