
काठमाडौं । लाखे नेपालको मौलिक सांस्कृतिक पहिचान हो ।
नेपालमा धेरै प्रकारका लाखे छन् । धेरै लाखे नाच अस्तित्वविहिन भइसकेको छ भने समुदायको पहलमा केही नाच भने ब्यूँताइएका छन् ।
गथांमुगः सँगै नेपालमण्डलमा चाडपर्व सुरू भएका छन् । त्यसमध्ये लाखे नाच पनि एक हो । जसले विशिष्ट मौलिक सांस्कृतिक पहिचान बोकेको छ । नेवार समुदायको बाहुल्य रहेको ठाउँमा लाखे नाच निकालिन्छ ।
राक्षसरूपि लाखेलाई नेवारहरूले देवताकै रूपमा पुज्दै आएका छन् । त्यसैले संरक्षक देवताको रूपमा सबै लाखेको छुट्टाछुट्टै महत्व रहेको छ ।
यसमध्ये ललितपुरको यल लाय्कु मिप्वाः लाखे पनि एक हो । नेपाल भाषामा ‘मि’ को अर्थ ‘आगो’ र ‘प्वाः’ को अर्थ ‘वाला’ हुन्छ अर्थात ‘आगोवाला लाखे’ हो । अहिले पाटनमा मिप्वाः लाखेमय भइरहेको छ । गथांमुगःको दिनबाट सुरू भएको नाच पाँच दिनसम्म चल्छ । यो नाचमा मसाल जलाएर लाखेले आगो फुक्ने र आगोको मुस्लो निकालेर नाच्ने गर्छ ।
नाचमा भ्यागुतोको पमा तीनपाकु व्याँचासहित नाच विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । यो कृषिकर्मसँग सम्बन्धित छ । यहाँ मिप्वाः लाखे र भ्यागुतो तीनपाकुलाई कृषिकर्ममा कृषकलाई सहयोगीको रूपमा लिइन्छ ।
कथनअनुसार रोपाइँ सकेर सबै किसान आराम गर्दै थिए । त्यसैबेला किसानका खेत–खेतमा गएर लाखेले धानबाली बिगार्न थाल्यो । खेतमा बसिरहेको भ्यागुता बाली नबिगार्न लाखेसँग आग्रह गर्यो ।
तर लाखेले उल्टै भ्यागुतोलाई लखेट्न थाल्यो । ज्यान जोगाउन खाल्डोमा हाम्फालेको भ्यागुतोमाथि लाखेले त्यहीं गएर आक्रमण गर्यो । भ्यागुता ज्यान जोगाएर त्यहाँबाट उफ्रिएर बाहिरियो । यसरी बाली नाश गर्न आएको लाखे आफैं खाडलमा फस्यो ।
नष्ट हुन लागेको बाली भ्यागुताले जोगाइदिएको विश्वासमा त्यही हाउभाउमा नाच नचाउने गरिन्छ । लाखे नाच लगभग लोप भइसकेको अवस्थामा स्थानीय जागरूक युवाको पहलमा २०७५ सालमा स्थापित यल लाय्कु मिप्वालाखे पुचले नाच जोगाएको छ ।
नेपालको यस्ता जीवित सम्पदा लाखे नाच जोगाउन आवश्यक छ । यसका लागि युवा सक्रियता महत्वपूर्ण हुन्छ ।
प्रतिक्रिया दिनुहोस्