१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपराधको नयाँ शैलीले प्रहरी नै चकित

फिल्ममा समेत कल्पना नगरिएको घटनाले चुनौती

14.287k
Shares

काठमाडौं । अपराधमा आएको नयाँ नयाँ शैलीबाट प्रहरी आजित हुन थालेको छ ।

डेढ दशकअघिसम्म अपराधमा अपरिचित मानिस संलग्न हुने गरेकोमा अहिले ८५ प्रतिशत अपराध परिचित त्यसमाथि नातागोता, छिमेकीबाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जमा एक संगठित अपराधीको एक समूहले चिन्दै नचिनेको मान्छेलाई पति, पत्नी बनाएर सुनियोजित सडक दुर्घटनाबाट हत्या गराई बीमा कम्पनीबाट २ करोड ५० लाख लिएको खुलेको छ ।

नेपाल प्रहरीको अनुसन्धान ब्यूरो सीआईबीले देशका विभिन्न स्थानबाट आपराधिक गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

एक वर्षअघि बाँके लालपुरमा मोटरसाइकललाई मिनी बसले ठक्कर दिई भएको दुर्घटनामा सर्जन विकको मृत्यु भएपछि नेपालगञ्जको रिलायन्स लाइफ इन्स्योरेन्सबाट उनकी पत्नी सपना मल्लले मृतकको नाममा बीमा र पुनर्बिमा कम्पनीबाट २ करोड ५० लाख लिएको रहस्य खुलेको हो ।

पत्नीको नाममा प्रकट महिलाको गतिविधि, कागजात, उनका सहयोगी भनिएकाको उठबस शंकास्पद भेटिएपछि कम्पनी प्रहरी शरणमा पुगेको हो । सर्जनको मृत्यु हुनु केही महिनाअघि मात्रै विवाह दर्ता भएको खुलेको छ । दुर्घटना भएको ४ महिनापछि रकम भुक्तानी भएको सिआईबीका प्रमुख उत्तमराज सुवेदी बताउनुहुन्छ ।

अनुसन्धानकै क्रममा संजीव अर्याल नामका व्यक्तिले सपनासँगको मिलमतोमा बीमा बापत प्राप्त ८० लाख, घटनामा संलग्न अर्का व्यक्ति दिपक केसीले ६० लाख लिएको खुलासा भएको हो । सोही घटनामा संलग्न ललिता सापकोटालाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

अनुसन्धानकै क्रममा सर्जनको दुर्घटना नियोजित ढंगले गरेको पाइएको र घटनामा संलग्न अन्य दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । अचम्म त के छ भने सर्जनको दुर्घटनापछि पक्राउ परेका व्यक्ति अदालतबाट छुटिसकेका छन् ।

उनीहरूबीच विवाह दर्ता भए पनि एकले अर्कालाई नचिनेको र नभेटेको खुलेको छ । सिनेमा बनाउँदा समेत कल्पना गर्न नसकिने यसखाले आपराधिक घटनाबाट प्रहरी अधिकारी चकित छन् । अपराधमा आएका नयाँ–नयाँ बान्कीबाट जोगिन आमसमुदायलाई पाइला पाइलामा सचेत हुन उनीहरूले सम्झाएका छन् ।