
काठमाडौं । आयोजक भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै भारतले पहिलो जित निकालेको हो ।
साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक–एक गोल थपे । भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो ।
जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो । श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल र बंगलादेश २ खेलमा ६ अंकसाथ शीर्ष दुई स्थानमा छन् । गोलअन्तरमा नेपाल अघि छ ।
शुक्रबारको दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश खेल्दैछन् ।
प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्