
काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो ।

त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो ।

समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भई ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो ।

तर संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ ।

यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ । फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ । हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन ।

त्यस्तै, अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडकपेटीमा नै बालुवा, गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन् ।






तस्विरः न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्