१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


काठमाडौंमा शुक्रबारदेखि लकडाउन थप कडा


0
Shares

काठमाडौं, जेठ १ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले भोलि (शुक्रबार) देखि लकडाउन अर्थात् बन्दाबन्दी कडा बनाउने भएको छ ।

गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलपछि बन्दाबन्दी कसिलो बनाउने निष्कर्ष निकालेको हो ।

शुक्रवारदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिने छलफलमा सहभागि एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । अब उपत्यका भित्रने र बाहिरिने नाकामा थप कडाइ गरिने छ । नगरपालिकाका मेयरहरूले भने भित्री सडकमा पनि जाँचमा कडाइ गर्न सुझाएका छन् ।

आवागमन रोक्नकै लागि गृह मन्त्रालयले सबैखाले पास रद्द गरिसकेको छ । जिल्लामा पास दिनुपर्दा प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्ने निर्देशन गृहले दिएको हो ।

काठमाडौंमा लकडाउन नै नरहेको भन्दै प्रधानमन्त्रीले कडा गर्न आदेश दिएलगत्तै गृह मन्त्रालयले  सुरक्षा निकायका प्रमुख र नागरपालिकाका मेयरहरुलाई बोलाएर कडा पार्न लागेको हो ।

नेपालमा बिहीबार अपराह्नसम्म २४६ जनामा कोरोना संक्रमण भएको छ ।