२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर


143
Shares

काठमाडौं । स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुने भएको छ ।

नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्थ्यो । तर, देशको शिक्षा प्रणालीले हाइब्रीड सिकाइलाई आत्मसाथ गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको साथ साझेदारीमा प्रवेश गरेको छ । विगत केही वर्षदेखि, राकुटेन भाइबरले नेपालको नयाँ शिक्षा प्रणालीलाई सहयोग गर्न, अनिवार्य अनलाइन शिक्षा र हाइब्रीड सिकाइबीचको दूरी कम गर्न सक्रिय भूमिका निभाउँदै आइरहेको छ ।

नेपालभरका विद्यार्थीहरूले अब भाइबरको नयाँ स्पेल बी च्याटबटबाट उक्त स्पेलिङ प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पहिलो पटक, दूर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गर्ने उद्देश्यका साथ नेपाल स्पेल बीले भाइबरसँगको सहकार्यमा आफ्नो पाँचौँ सिजनको अडिसनलाई डिजिटाइज गर्न लागेको जनाएको छ । नेपाल स्पेल बीका लागि महत्वपूर्ण उपलब्धि भएको मानिएको छ । अघिल्ला सिजनहरूका परीक्षा कागजमा आधारित मात्र हुने गर्दा कतिपय योग्य विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने मौका नपाएको पनि आयोजकको ठहर छ । प्रतियोगिताको डिजिटाइजेशन र भाइबरमार्फत् नयाँ एपलिकेशन मोडसँगै, नेपालभरका विद्यार्थीहरूका लागि प्रतियोगितामा सहभागी हुन सजिलो र सुविधाजनक भएको र विगतका भन्दा यस वर्षको प्रतियोगिता वृहत र भब्य रहने नेपल स्पेल बीको विश्वास छ ।

च्याटबटको साथै, भाइबरले नयाँ नेपाल स्पेल बी, नामक च्यानल पनि सार्वजनिक गरेको छ, जहाँ सहभागी र फ्यानहरूले क्वीज, पोल र मिनी गेमहरूमा सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रमको लागि दर्ता गर्न योग्य विद्यार्थीहरू १६ वर्षभन्दा माथि र हाल उच्च माध्यमिक तहमा अध्यनरत भएको हुनुपर्नेछ । विद्यार्थीहरूले नेपाल स्पेल बीको च्याटबटमार्फत् आफ्नो नाम दर्ता गराउन सक्नेछन् । च्याटबट भाइबरमा यही अगष्ट १ देखि २० सम्म उपलब्ध हुनेछ । त्यसपछि सर्टलिस्ट गरिएका विद्यार्थीहरूलाई अन–ग्राउन्ड एक्टिभेसनका लागि विभिन्न २४ स्थानमा बोलाइनेछ । त्यसपछि अगष्ट २६ बाट सुरू हुने क्वालिफाइङ राउण्डका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ ।