
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने सदस्यहरूको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ ।
आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद्को ११३ औँ बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहनुभएका मन्त्री गहतराजले छिट्टै बोर्डलाई पूर्णता दिने बताउनुभएको हो ।
ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपकै एक सदस्य नियुक्त हुन बाँकी छ । नयाँ आर्थिक वर्ष सुरू भएसँगै वार्षिक कार्ययोजना बनाउनका लागि राखेपको पहिलो बोर्ड बैठक बसेको हो । बोर्डका सदस्य हरि खड्का नेपाल प्रहरीमा जागिरे रहँदा गलत प्रमाणपत्र बुझाएकोमा अदालतबाट दोषी ठहर भएपछि खड्काको पद स्वतः रिक्त थियो । सोही पद र अन्य निकायका सदस्य नियुक्त गर्न बाँकी छ ।
मन्त्री गहतराजले बोर्डको बैठक बसेर गरेका निर्णयबाट खेलकुदका कामलाई अगाडि बढाउन निर्देशन दिनुभयो । मन्त्री गहतराजले नयाँ आर्थिक वर्ष सुरू भएसँगै नजिकिँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेपको वार्षिक कार्य योजनालाई एजेन्डा बनाई बोर्ड बैठक बोलाउनु भएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनमा बोर्ड बैठकले वार्षिक कार्यक्रम योजना तथा बजेटमाथि छलफल गरी स्विकृत गर्ने प्रावधान छ । बैठकमा मुख्यतः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केन्द्रित रहेर छलफल हुन लागेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । त्यसका लागि विभिन्न उपसमिति सहित तयारीका काम अघि बढाइएको छ ।
प्रतियोगिताको तयारी स्वरूप खेल सामग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ । गठित वभिन्न उपसमितिका संयोजकले आफ्नो जिम्मेवारीलाई पनि अगाडि बढाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्