
काठमाडौं । नेपालमा सडक दुर्घटनामा वर्षेनी करिब २५ सयको ज्यान जाने गरेको छ । दशौं गुणा घाइते र हजारौं अपांग हुनुले कहाली लाग्दो छ । यातायात सेवालाई सुरक्षित बनाउन ठोस, सार्थक र नतिजामूलक पहल भएको बताएपनि परिणाम विपरीत गतिमा बढ्दो छ । आश्चर्य त के छ भने पढेलेखेका र ट्राफिक व्यवस्थापन बुझेकैहरु दुर्घटनाका कारक बन्ने गरेका छन् ।
सडक दुर्घटना सम्बन्धमा गरिएका अधिकांश अध्ययन, विश्लेषण र समीक्षाहरूले सवारी चालकको लापरबाही, तीव्र गति, यान्त्रिक गडबडी, सडकको अवस्था दुर्घटनाका मुख्य कारण उल्लेख गरेको पाइन्छ । यद्यपि सवारी साधनको क्षमता बढी यात्रु बोक्नु, ’लेन’ अनुशासनको पालना नगर्नु, जथाभावी चढ्ने र ओर्लने गर्नु, दुई पाङग्रेमा पछाडि बस्नेले ’हेल्मेट’ नलगाउनु, पैदल यात्रीले जथाभावी सडक काट्नु जस्ता हेलचेक्र्याइँपूर्ण व्यवहारले सडक दुर्घटना बढाउन मद्दत गरेको देखिन्छ । एक सेकेण्डको असावधानीले सडकमै जीवन लीला समाप्त हुने गरको छ ।
अनुमति बिना सवारी चलाउने, नक्कली सवारी अनुमतिको प्रयोग, अरूको सवारी अनुमति प्रयोग गरी सवारी चलाउने, जथाभावी सवारी साधन चलाउनु, दुई पाङग्रेको सवारी अनुमतिले अन्य सवारी साधन चलाउने जस्ता विकृत अभ्यास बाक्लै हुने गरेको तथ्यांकले देखाउँछ । पैदल यात्रुले सडक नियमको पालना नगर्दा सवारी दुर्घटनाको सिकार हुने सम्भावना धेरै भएको महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख राजेन्द्र प्रसाद भटट् बताउनुहुन्छ ।
कानूनले सवारी साधनको प्रकृति अनुसार फरक–फरक अधिकतम् गति तोकेको छ । अब यसलाई पुर्नपरिभाषित गरी सवारी साधनको प्रकृति, सडक अवस्थाको प्राविधिक परीक्षण गरी प्रत्येक सडक खण्डमा अधिकतम गति निर्धारण गर्नु आवश्यक देखिन्छ ।
केही सडक खण्डमा लागू गरिएको टाईम कार्डले दुर्घटना कम गराउन मद्दत गरेको प्रमाणित गर्छ । त्यसो त सवारी साधनको नियमित चेकजाँच गरी मर्मत सम्भार नगर्दा हुने यान्त्रिक गडबडीका कारण समेत सडक दुर्घटनाका घटना बढिरहेका छन् ।
साधनको नियमित प्राविधिक परीक्षण र मर्मत सम्भारले सम्भावित दुर्घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सकिने तथ्यलाई यातायात व्यवसायी, चालक र मजदुरले समेत बेवास्ता गर्दा दुर्घटना बढेकोमा दुईमत छैन । कतिपय व्यवसायीले त कमजोर अनुगमनको फाइदा उठाउँदै पूराना र थोत्रा सवारी साधन सञ्चालन गरी यात्रुको जीवनसँग खेलवाड गरिरहेको पाइन्छ । सडकमा भएका सानातिना क्षति र खाल्डा–खुल्डीको तत्काल मर्मत गरे सडकको दिगोपन बढ्नुका साथै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
दुर्घटना न्यूनीकरणको लागि पर्याप्त ट्राफिक संकेत, लामो दूरीका सवारीका लागि निश्चित स्थानमा ’रिफ्रेसमेन्ट’ र सवारी चेकजाँच स्थल, जोखिमयुक्त सडकको किनारामा सुरक्षा बार, पैदलयात्री र अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुल गर्न मिल्ने सुरक्षित सडक पेटी आदिको व्यवस्था गरेमा दुर्घटना न्यूनीकरण हुने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्