१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गठबन्धनभित्र पेचिलो बन्दै सिट बाँडफाँट : समाजवादी एकतादेखि वाम गठबन्धनसम्मको पासा


832
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन आगामी संघ र प्रदेश निर्वाचनमा कायमै रहने बताइरहँदा गठबन्धनभित्र विरोधाभाषपूर्ण गतिविधि भइरहेका छन् ।

एकातिर गठबन्धनका पाँचै दल निरन्तरताको पक्षमा अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतिर गठबन्धनमा रहेका वाम दलहरू समाजवादी केन्द्र निर्माणको प्रयासमा छन् ।

पाँच दलमा आगामी निर्वाचनमा गठबन्धन गर्नैपर्ने दवाव रहे पनि सिट बाँडफाँटको मोलतोलका लागि विरोधाभाषपूर्ण गतिविधि भइरहेका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर जान सत्तारुढ पाँच दलीय गठबन्धन एकमत रहे पनि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ ।

सिट बाँडफाँटकै किचलोका कारण गठबन्धनभित्र समाजवादी केन्द्रको विशेषण दिएर उपगठबन्धन बनाउने प्रयास भइरहेको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले १ सय ६५ सिटमध्ये झण्डै १ सय सिट दाबीसहित ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेसँगै गठबन्धनका वाम दलहरू समाजवादी केन्द्र नाम दिएर उपगठबन्धनको प्रयासमा लागेका हुन् ।

गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)का नेता र जनता समाजवादीबाट बाहिरिनुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच निरन्तर छलफल भइरहेको छ ।

अर्कोतिर तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच समाजवादी केन्द्र निर्माण गर्ने भन्दै २ पटक औपचारिक छलफल भइसकेको छ ।

गठबन्धनमा सम्मिलित वाम नेताहरूले वर्तमान गठबन्धनलाई निरन्तरता दिने र विचार मिल्नेबीच एकताको प्रयास भइरहेको दाबी गरे पनि मुख्य विषय भने आगामी चुनावमा सिट बाँडफाँटको लागि अपनाइएको एक अस्त्र हो ।

गठबन्धनमा रहेका वाम नेताहरूले बेलाबखत दिने गरेको अभिव्यक्तिले यहि तथ्यलाई पुष्टि गर्छ ।

एमालेसंग तत्काल सहकार्यको सम्भावना नरहेको दाबी गरिरहेका गठबन्धनका वाम नेताहरू कांग्रेससँग भागबण्डा नमिले कांग्रेस बाहेकको गठबन्धन गरेर चुनावमा जाने रणनीतिमा छन् ।

वाम दलहरूको रणनीतिलाई नजिकबाट नियालिरहेको कांग्रेसका नेताहरू भने कमजोर सिट लिएर निर्वाचनमा जाने पक्षमा छैनन् ।

गठबन्धनको निरन्तरताका पक्षमा एकमत भए पनि नेपाली कांग्रेसको निर्णय र गठबन्धनमा रहेका वाम दलहरूको रणनीति हेर्दा सत्तारुढ गठबन्धनको लागि सिट वाँडफाँटको विषय फलामको चिउरा चपाउनु सरह हुने निश्चित छ ।