
काठमाडौं । प्रहरीले काठमाडौंको काभ्रेस्थलीमा मृत अवस्थामा भेटिएका चारजनामध्ये ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेश मैनालीले चारै जनाको शरीरमा धारिलो हतियार प्रयोग भएकाे जानकारी दिनुभयो । उहाँले पहिला श्रीमानले तीन जनाकाे हत्या गरेर आफूले आत्महत्या गरेकाे हुनसक्ने बताउनुभयाे ।
प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय पाण्डेसहित ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छाेरी आशिका पाण्डे र ८ वर्षीय छाेरा आशिक पाण्डे रहेका छन् ।
श्रीमती र छाेराछाेरीकाे शव एउटा काेठामा भेटिएकाे थियाे भने श्रीमानकाे शव अर्काे काेठामा पासाे लगाएकाे अवस्थामा फेला परेकाे थियाे । श्रीमान-श्रीमतीबीच यसअघि पन पटक-पटक विवाद भएर तीनपटकसम्म महानगरीय प्रहरी वृत्त, बालाजुमा पुगेकाे स्थानीयले बताएका छन् ।
यसैबीच श्रीमती सुनिता दुई दिनपछि युके जाने पक्का भएकाे थियाे । उनकाे भिसा र टिकटकाे काम सकिसकेकाे थियाे । उनी उड्नुअघिनै घटना हुनुले पनि परिवारभित्रकै व्यक्तिप्रति बढि आशंका रहेकाे प्रहरीकाे भनाइ छ । उनकाे शरीरमा मात्र ७ ठाउँमा धारिलाे हतियार प्रहार भएकाे छ ।
श्रीमान–श्रीमतीको विवाद र सम्पत्तिको कारणले घटना भएको हुनसक्ने स्थानीय बताउँछन् । श्रीमानले घर बेच्न खोजेपछि विवादले उग्र रूप लिएको थियो । कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलासा भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्