१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१ अंकले बढ्यो नेप्से परिसूचक


13
Shares

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा तीव्र उतारचढावका बीच बजार परिसूचक नेप्से १ अंक बराबरले सकारात्मक रहेर २१ सय ९४ कायम भएर थामिएको छ ।

यसदिन पनि पटक–पटक २२ सय माथि नाघेर नेप्से २२ सय २४ सम्म पुगेपनि वृद्धि टिक्न नसकेको हो । कारोबार भने उच्च झण्डै पौने ५ अर्ब नजिक पुग्यो । यस दिन ५ वटा समूह सकारात्मक रहे भने बाँकी समूह ऋणात्मक रहे ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च सय अंक माथिले बढ्दा ७६ अंकले उकालो लाग्यो । जलविद्युत समूह पनि दोहोरो अंकले सकारात्मक रहँदा वाणिज्य बैंक सामान्य अंकले र लगानी समूह नगन्य अंकले हरियो रहे ।

अरु अधिकांश समूह सामान्य दोहोरो अंकले ओरालो लागे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय १७ कम्पनीको १ करोड ५ लाख बढी कित्ता शेयर ४ अर्ब ६७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय १५ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ५८ को बढेको पनि नेप्सेले जनाएको छ । यस दिन बुटवल पावर कम्पनी, सीटीजन्स म्युचिअल फण्ड, गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाए ।