
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले सो भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभएको हो ।
सोमबार काठमाडौंमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताउनुभयो ।
ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेवापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको पनि दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको समेत दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहरूलाई पटक–पटक सचेत गराउनुभयो ।
त्यस अवसरमा उहाँले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरू उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनुपरेको स्मरण गराउनुभयो ।
अध्यक्ष ओलीले पूर्वजहरूले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी समेत दोहो¥याउनुभयो । ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेश गर्ने निर्णय गर्दा पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्