
सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा कामका लागि नगद परियोजनाले गाउँमा कृषि सडक निर्माण भएपछि स्थानीयबासी खुशी भएका छन् ।
साेही परियोजना संचालन गरिएपछि फिक्कल गाउँपालिका वडा नं ४ स्थित ठूलीवन कृषि सडक स्तरोउन्नति भएकाे छ । यस क्षेत्रमा कृषि सडक निर्माण भएपछि स्थानीयलाई सुविधा पुगेको छ ।
कामका लागि नगद कार्यक्रम अन्तर्गत ठूलीवन कृषि सडकको स्तरोउन्नतिले स्थानीयलाई रोजगारीका माध्यमबाट गाउँमा विकासको पूर्वाधारको रुपमा कृषि सडक निर्माण हुँदा स्थानीय लाभान्वित भएको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयाे ।
कोभिड-१९ बाट प्रभावित स्थानीय बिपन्न नागरिकले आफ्नै थात्थलोमा श्रम गरेर रोजगारी पाउँदा बिपन्न समुदायलाई आर्थिक रूपमा टेवा पुग्ने भएकाे छ । साथै पिछडिएको गाउँमा आवागमन गर्न तथा कृषि सडक निर्माण भइ कृषिजन्य वस्तुहरुलाई बजारसम्म पुर्याउन सजिलो भएको छ ।
कामका लागि नगद परियोजना अन्तर्गत ५३ जनाले श्रम गरेबापत उनीहरूलाई १० लाख ६७ हजार ९ सय ५० रुपैयाँ प्रदान गरिएको छ । जसमा सडक स्तरोउन्नतिका लागि ९० हजारको ढंगा ढुवानी, १ लाख २० हजार ७९ रुपैयाँको सुरक्षाका सामाग्री र सूचना बोर्ड ३ हजार गरी १२ लाख ८१ हजार २९ रुपैयाँ लागतमा सडक स्तरोउन्नति गरिएको हो ।
कामका लागि नगद परियोजना अन्तर्गत तीनपाटन–फिक्कल कृषि सडक रिलिफ नेपाल र वल्ड भिजन इन्टरनेशनलले सहयोग गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्