
इलाम । इलामको चुरे क्षेत्रका स्थानीय बासीन्दाको प्रमुख नगदेवालीको रुपमा सुपारी खेती देखिएको छ ।
समथर मात्र नभएर यहाँको पहाडी भू-भागमा पनि प्रशस्तै सुपारी उत्पादन हुन थालेकाले कृषकले अन्य खेती मासेर सुपारी लगाउन थालेका हुन् । आम्दानी बढाउनमा लागि स्थानीयस्तरमा नै सुपारी प्रशोधन गरी बिक्री गर्न घरेलु उद्योग सञ्चालन गर्न आवश्यक रहेको देखिन्छ ।
इलामको चुरे क्षेत्रमा अहिले व्यवसायिक रुपमा सुपारी लगाइएको छ । राम्रो उत्पादन हुने भएपछि जिल्लाको रोड गाउँपालिका, चुलाचुली गाउँपालिका, माइ नगरपालिका, र माङसेबुङको दक्षिणी क्षेत्रमा सुपारी खेती गरिएको हो । अझ पछिल्लो समय सम्बन्धित पालिकाले पनि बीउ बीजन लगायत प्राविधिक सहयोग पुर्याउन थालेपछि कृषकले सुपारी खेती विस्तार गर्ने क्रम बढ्दो छ ।
बहुवर्षे बालीको रुपमा सुपारी खेती गरेर एकै बोटबाट ५० केजीसम्म सुपारी उत्पादन गर्न सकिने किसानहरुको अनुभव छ । सुपारी खेतीले तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले पनि कृषकको आर्कषण बढेको हो । चुरे क्षेत्रका किसानले वार्षिक रुपमा सुपारी बेचेर ५० हजार ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । व्यपारीले बगानमा नै आएर खरिद गर्ने भएकाले सुपारीलाई बजारको चिन्ता छैन् ।
कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले कृषकको रोजाईमा परेको सुपारी खेतीबाट अझ आम्दानी बढाउन स्थानीयस्तर मानै सुपारी प्रशोधन गरी बिक्री गर्न घरेलु उद्योग सञ्चालन गर्न आवश्यक रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्