१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैदेशिक रोजगारीले ल्याएको समाज विग्रहको पाटाे

प्रहरीको तथ्याङ्क भन्छ– आफन्तको हत्यापछि आत्महत्याको दर बढ्दो

767
Shares

काठमाडौं । आर्थिक स्थिति बलियो बनाउने एउटा विकल्पको रूपमा वैदेशिक रोजगारीलाई लिइन्छ ।

वैदेशिक रोजगारी विपन्न मानिसका लागि आयआर्जन र आर्थिक उन्नतिको एउटा महत्वपूर्ण क्षेत्र भए पनि यससँगै समाजमा अनेकौं विकृति विसङ्गति पनि भित्रिएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीले सामाजिक विखण्डन, एक्लोपन, सम्बन्धविच्छेदका साथै हत्या र आत्महत्याजस्ता समस्या देखिन थालेका छन् । जसको ज्वलन्त उदाहरण, काठमाडौंको काभ्रेस्थलीमा सोमबार भएको घटना हो ।

वैदेशिक रोजगारीका लागि १२ वर्ष विदेश बसेर स्वदेशमा परिवारसँग दिन गुजारा गर्दै आएका गोरखा पुर्ख्यौली घर भएका दिनेश पाण्डेले आफ्नै श्रीमतीमाथि शंकाको दृष्टिले हेर्दाको परिणाम चार जनाको परिवार नै सखाप भएको छ ।

श्रीमतीसँगको बेमेलका कारण ४१ वर्षका दिनेश पाण्डेले ३९ वर्षकी श्रीमती सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षका आशिकको विभत्स हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा गएदेखि नै दिनेशले श्रीमतीले आफूले कमाएको रकमको दुरुपयोग गरेर माइतीपक्षलाई दिएको आशंका गर्थे । सुनिताले सो आरोपको खण्डन गर्न थालेपछि विवादको बिउ रोपिएको थियो ।

घटना यतिमै सीमित भएन, श्रीमान्ले घरायसी सामग्री ल्याउँदा पनि आफूलाई मार्न ल्याएको भनि श्रीमतीले आशंका गर्न थालिन् । श्रीमान्–श्रीमतीको विवाद सुनिताका माइती पक्षले पनि थाहा पाएपछि दुवै जनालाई मिलाउने प्रयास गरेका थिए ।

दाईले बहिनी सुनितालाई सम्बन्ध विच्छेद गर्न पटक–पटक सल्लाह नदिएका पनि होइनन् । तर, सम्बन्ध विच्छेद गर्न नपाउँदै बहिनीको हत्या भएको सुनिताका दाजु नेत्र काफ्ले बताउँछन् ।

वैदेशिक रोजगारीका कारण जघन्य अपराधको घटना यतिमै रोकिएका छैनन् । विवाहित पुरुष वा महिला वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएसँग पारिवारिक विग्रह र कलहका घटना बढ्दै गएका छन् ।

यही साउन ९ गते चितवनका कृष्णप्रसाद अधिकारीले श्रीमती रुष्मा आचार्यलाई खुकुरी प्रहार गरी भाग्ने क्रममा घरको छतबाट लडेर मृत्यु भयो । आचार्य वैदेशिक रोजगारीबाट फर्किएको दुई महिना बित्न नपाउँदै श्रीमतीको हत्या गरे ।

वैदेशिक रोजगारीबाट फर्किएकै दिन कुटपिट गरेका कृष्णलाई छरछिमेकी र आफन्तले श्रीमतीको बारेमा नराम्रो कुरा सुनाएको भरमा आशंका गर्दा घटनाको विजारोपण भएको थियो । सोही आशंकाले कृष्णले आफ्नै परिवार सिध्याए ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा ३१ हजार भन्दा बढीले आत्महत्या गरेका छन् । जसमध्ये अधिकांशले आफन्त र नातेदारको हत्या गरी आत्महत्या गरेको देखिन्छ ।

आत्महत्यामा आर्थिक अभाव, सम्पति विवाद, घरायसी कलह, परपुरुष वा महिलासँगको सम्बन्ध, नैराश्यता, प्रतिशोध, मानप्रतिष्ठामा आँच आउनेलगायतका कारण देखिएका छन् ।

केही प्रतिनिधिमुलक घटना निहालौंं ।
२०७७ भदौ २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा ३६ वर्षीय सुदिप अधिकारीले ३४ वर्षीया श्रीमती सम्झना र १५ वर्षका छोरा सुशान्तको हत्या गरी आत्महत्या गरेका थिए । उनले घरमा पालेको कुकुरसमेत मारेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

२०७७ पुुस २४ गते काठमाडौंको टोखामा एक दम्पत्ती मृत फेला परे । सुर्खेत पुर्ख्यौली घर भएका उमेश केसी घरको कोठामा र श्रीमती सदीक्षा भर्‍याङमा झुण्डिएको अवस्थामा फेला परेका थिए । सदीक्षाले उमेशको हत्या गरी आफूले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

यस्तै, २०७८ असोज २२ मा काठमाडौंको रामकोटमा चरम आर्थिक अभाव देखाउँदै एक परिवारका चार जनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको थियो ।

२०७६ माघ २६ गते पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की ललितपुरको सानेपास्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । घरमा काम गर्ने दाङको लमहीका विजय चौधरी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

अग्नि साक्षी राखेर सात जुनी सँगै बाँच्ने कसम खाएर सुरु भएको दाम्पत्य जीवनको विघटनलाई कुनै पनि अर्थमा सुःखद मान्न सकिँदैन ।

परिवारको विघटन पश्चात हुने सदस्यहरूको पुनः सामाजिकीकरणमा पनि हाम्रो समाज उदार छैन भने आश्रित परिवारका अन्य सदस्य मनोवैज्ञानिक, शैक्षिक, सामाजिक रूपमा कमजोर र असुरक्षित बन्न पुग्छन् ।