
काठमाडौं । सत्तासीन दल नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरूको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताउनुभयो ।
उहाँले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गर्नुभयो ।
‘हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो, अब के शपथ खाने हो त्यहि मात्र पास गरौं, शपथ खुवाउनेले एउटा र खानेले एउटा नगरौँ,’ उहाँले भन्नुभयो, ‘ जनता भन्ने पनि यहीँ लेखौँ, ईश्वर भन्नेभए पनि यही लेखौं, महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ, हामी हास्यव्यंग्यको पात्र नबनौं ।’
सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्