२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एन्फा कार्यसमितिको बैठक साउन २६ गते बस्दै


39
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ ।

यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ । यसअघि पहिलो पटक साउन २ गतेलाई बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ हुँदा स्थगित भएको थियो । त्यसपछि साउन ५ मा बोलाइएको दोस्रो बैठक भने एजेण्डामा प्रवेश नगरी स्थगित भएको थिए ।

यसअघि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि अध्यक्ष नेम्बाङले बैठक स्थगित गरेका थिए । खड्का लगायत कार्यसमितिका १२ जनाले पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाँडेको बर्खास्ती माग गर्दै निवेदन हालेका थिए ।

दोस्रो बैठकमा अनुपस्थित रहेका अर्का सदस्य रमेश व्यन्जनकार पनि बर्खास्त माग गर्नेमा थपिए । यससँगै कार्यसमितिमा हाल रहेका १९ मध्य १३ जनाले पाँडेको बर्खास्ती माग गरेका छन् । एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन ।

असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।