२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सवारी र यात्रु कालीगण्डकीमा मिसाउने बेगखोला : पुल नबन्दा बेनी–जोमसोम यात्रा जोखिमपूर्ण


533
Shares

म्याग्दी । उत्तरी म्याग्दी र हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

जिल्ला सदरमुकामदेखि १२ किलोमिटर उत्तरमा पर्ने बेगदोलमा पुल नबन्दा हरेक वर्ष बर्खायाममा स्थानीयहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । हिउँदमा पनि भीषण वर्षा हुँद बेगखोलाले सवारी र पैदलयात्रु बगाउने गरेको थुप्रै उदाहरण छन् ।

गतवर्ष भदौमा मात्र बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुनलाई बेगखोलाले बगायो ।

२०७३ भदौमा आएको बाढीले बेगखोलाले पूरै बस्तीसहित मोटरेबल पुल र झोलुङ्गे पुल बगायो । जसले यात्रा कठिन र जोखिमपूर्ण त भयो नै यात्रुले ज्यानसमेत गुमाउनपर्यो ।

माथिल्लो भेगमा भीषणा वर्षा हुँदा बेगखोलामा आउने ठूलो बाढीले यात्रु समस्यामा पर्ने गरेका छन् । बाढीले पुलसहितको संरचना बगाएको ६ वर्ष बित्दा पनि सरकारी निकायले अस्थायी संरचनासमेत नबनाएके स्थानीय सुरजन भट्टचनले बताउनुहुन्छ ।

‘पुल नबन्दा यहाँको अवस्थाको बयान गरिसाध्य छैन, खोला बढेपछि हरेक दिन यात्रुको ज्यान जोखिममा हुन्छ,’ उहाँ भन्नुहुन्छ । सरोकारवाला निकायका पदाधिकारीलाई ५ मिनेट भए पनि अवलोकन गर्न उहाँको आग्रह छ ।

बेगखोलाको बाढीले केही सवारी र यात्रुलाई कालीगण्डकीमा मिसाए पनि केन्द्र, प्रदेश र स्थानीय जनप्रतिनिधिले वास्ता नगरेको उत्तरी म्याग्दीका स्थानीयको गुनासो छ । बाढी आउँदा मोटरसाइकल चालक र यात्रु पैसा तिरेर स्काभेटरको बकेटमा बसी खोला तर्छन् ।

बेगखोलामा पुल निर्माणको लागि वीक्वीई हिमालयन जेभीले ८ करोड ५० लाखको ठेक्का पाएको छ । पुलको डिजाइन तयार भएर खोलाको बीचमा फाउन्डेसन राखे पनि बाँकी काम अघि बढ्न सकेको छैन । ७० मिटर लामो हुने पुलको दायाँ–बायाँ २–२ सय मिटर लिंक सडकसमेत हुने निर्माण कम्पनीले जनाएको छ ।