
काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ ।
नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।
बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी वस्तीमा पसेको छ । मंगलबार दिउँसोदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोसीले अस्थायी बाँध भत्काएको हो । योसँगै बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन् ।
कोसीले केही घर डुबाएको छ । नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको छ । डुम्रीबोटेहुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन् ।
२०४५ सालदेखि कोसी पूर्वतिरबाट बग्न थालेपछि यो क्षेत्रमा बस्ती बसेको थियो । ३४ वर्षपछि कोसीले आफ्नो पुरानै बाटो समात्दा सयौँ परिवार विस्थापित हुने देखिएको छ । कोसीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुरसँगै सुनसरी र सप्तरीका केही बस्तीसमेत डुबानमा पर्नेछन् । कटान नरोकिएको बुधबार दिनभरीमा मूल भँगालो बस्तीमा पस्ने बताइएको छ । यसैबीच, गृह मन्त्रालयले बाढीबाट विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा राख्न र राहत वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्