
काठमाडौं । आगामी संघ र प्रदेश निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरूबीच चुनाव केन्द्रीत गठबन्धन बनाउने प्रतिस्पर्धा चलेको छ ।
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल औसत सफल देखिएकाले राजनीतिक दलहरू आगामी निर्वाचनको लागि चुनावी गठबन्धन बनाउने प्रयासमा लागेका हुन् ।
मुख्यगरी प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र यो प्रयासमा केन्द्रित छन् ।
स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बन्न सफल नेपाली कांग्रेसको साउन पहिलो साता सम्पन्न केन्द्रिय समिति बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।
गठबन्धनका दलहरूसँगको तालमेलकै कारण २०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो पार्टी बन्न सफल भएको कांग्रेस तत्काल गठबन्धनबाट छुट्टिने मनसायमा छैन ।
कांग्रेसले वर्तमान पाँच दलीय गठबन्धनमा मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आबद्ध गर्ने प्रयास गरिरहेको छ ।
पाँच दलीय गठबन्धनबीच भएको चुनावी तालमेलकै कारण गत स्थानीय तह निर्वाचनमा पहिलोबाट दोस्रोमा झरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) पनि आगामी निर्वाचनलाई केन्द्रित गरेर गठबन्धन बनाउने प्रयासमा छ ।
एमालेको पहिलो प्राथमिकता सत्तारुढ पाँच दलीय गठबन्धन फुटाउने रहेको छ ।
एमाले र सत्तारुढ दलमा आवद्ध वाम दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का दोस्रो तहका नेताहरूबीच सके पार्टी एकता नभए चुनावी तालमेलको अनौपचारिक छलफल भइरहेको छ ।
तर, तत्काल वाम एकता वा चुनावी तालमेलको स्थिति नदेखेपछि नेकपा (एमाले) पाँच दलीय गठबन्धन बाहिर रहेका वाम दल समेटेर गठबन्धन बनाउने अध्यक्ष केपी शर्मा ओलीले बताइसक्नुभएको छ ।
अर्कोतिर सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध वाम दलहरूबीच समाजवादी केन्द्र निर्माणको प्रयासमा छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीबाट बाहिरिनुभएका डा.बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम समाजवादी केन्द्र निर्माणको प्रयासमा छन् ।
वर्तमान गठबन्धनलाई कायमै राखेर विचार मिल्नेसँग एकता गर्ने भन्दै वाम नेताहरूबीच पटक–पटक छलफल भइसकेको छ । कांग्रेससँग चुनावी तालमेलमा मिल्न नसके समाजवादी केन्द्र निर्माण गरेर आगामी निर्वाचनमा जाने उनीहरूको तयारी छ ।
स्थानीय तह निर्वाचनपछि नयाँ दल दर्ता र स्वतन्त्र उम्मेद्वारी दिने लहर चलेको छ । उनीहरूबीच स्थापित दललाई चुनौती दिन मिलेर जाने विषयमा छलफल भइरहेको छ ।
राजनीतिक दलहरूको तयारी हेर्दा आगामी संघ र प्रदेशको चुनावमा दलीय भन्दा पनि गठबन्धनको प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्