
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताउनुभएको छ । उहाँले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
उपसभामुख भुसालले प्रतिनिधि सभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने बताउनुभयो । उहाँले संसदबाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताउनुभयो । जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै उहाँले समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
उपसभामुख भुसालले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताउनुभयो । उहाँले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकाले सोहीअनुसार नै संसदको आयु रहने बताउनुभयो । उहाँले आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म मात्रै संसदको अवधि रहने भन्दै सबै सांसद र संसदको लागि यसले आगामी दिनमा नजिर बसाल्ने बताउनुभयो । उपसभामुख भुसालले सबै सांसद र संसदको लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र वहस भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्