१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिका एक चीन नीतिविरुद्ध गएको नेपालका कम्युनिष्ट पार्टीहरूको निष्कर्ष


1.157k
Shares

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरूले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धारणा राखेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् ।

अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरीत भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनिविरोधी गतिविधिहरू गरेको यो पहिलो पटक नभएको बताउनुभयो ।

उहाँले अमेरिकी संसदको सभामुखले ताइवानको प्रमुख शहर ताइपेइको भ्रमण गर्नु एक चीन नीतिविरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताउनुभयो ।

अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको बताउनुभयो ।

उहाँले अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनिविरुद्धका गतिविधि गरिहरेको बताउनुभयो ।

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनबिरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पार्दै अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हितमा समर्पित भएको आरोप लगाउनुभयो । उहाँले सरकार नेपालको हीतलाई छोडेर शक्तिको हीतमा समर्पित रहेको बताउनुभयो ।

अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमीन किन्न लागेको बताउनुभयो ।