
काठमाडौं । कुनै समय ६ सय कालिगढ राखेर दुई दर्जन बढी मुलुकमा नेपालको हस्तकलाका सामान निर्यात गर्ने लक्ष्मी उड क्राफ्ट अहिले संकटको भुँवरीमा फसेको छ ।
हरेक वर्षको नीति तथा कार्यक्रममा सरकारले उत्पादनमुखी अर्थतन्त्रको बखान गरे पनि स्थानीय उद्योगले आफूलाई सुरक्षित महसूस गरेका छैनन् । ७ हजार डिजाइनका सामग्री उत्पादन गरेर वैदेशिक मुद्रा आर्जन गर्ने राजधानीको एउटा मौलिक उद्योग धर्मरमा पुगेको छ ।
उद्यमीका अनुसार विचौलियाका कारण नेपालको मौलिक उद्योग संकटमा पर्दै गएका छन् । राजनीतिक अस्थिरता र स्पष्ट नीतिको अभावमा सञ्चालित उद्योगधन्दा आग्लो लाग्ने अवस्थामा पुगेका छन् ।
विगतको तुलनामा अहिले आफ्नो कारोबार शून्य अवस्थामा पुगेको उद्यमीको स्वमूल्याङ्कन छ । न सरकारको भर छ, न आफ्नो इच्छाशक्तिको उपादेयताले कुनै सुधार ल्याउन सकिने व्यवसायी लक्ष्मी शर्मा बताउनुहुन्छ ।
धोबी खोलामा फालिएको जनावरको अस्थिपञ्जरबाट नेपालको मौलिक कलाका सामग्री उत्पादन गर्ने प्रेरणा प्राप्त गरेकी लक्ष्मी शर्माभित्र संघर्षका पत्रै–पत्र छन् । उहाँले के गर्नुभयो भन्दा पनि के गर्नुभएन भन्ने प्रश्नबाट जिन्दगीको यात्रा आरम्भ हुन्छ ।

१३ वर्षको उमेरमा विवाह भयो । तीन छोरीको आमा भएपश्चात छोरा नपाएको बहानामा पतिले सौता उपहार दिएपछि हातमुख जोर्ने बाध्यताको खोजीमा जन्म दिनेको आमाको कोठालाई कर्मस्थल बनाएर ८ हजारको लगानीमा उद्योगको बीउ रोप्नुभयो । त्यही बीउ फस्टाएर करोडौंको मालिक बन्नुभयो ।
शिक्षाका नाममा जम्मा तीन दिन स्कुल टेक्नुभयो । तर, अहिले करोडौंका कारोबार एक्लै गर्नुहुन्छ । धाराप्रवाह अंग्रेजी बोल्नुहुन्छ । दुःखमा नआत्तिन र सुःखमा नमात्तिन आफूले सिकेको दिव्यज्ञान व्यवसायमा लागू गर्नुभएको छ । लक्ष्यमा इमान्दार भएर लागे कसैले बाटो छेक्न नसक्ने उहाँको अनुभव छ ।
उमेरले ७ दशक पार गरिसक्नुृभएकी शर्माले एशियाकै पहिलो टेम्पो चालकको इतिहास पनि बनाउनुभएको छ । त्यो भन्दा पनि सयौंलाई रोजगारी दिएको आफ्नो व्यवसाय अहिले ५, ७ जना मजदुरमा सीमित भएको दृश्यले उहाँलाई पीडा दिएको छ ।
यस्ता रुग्ण उद्योग लयमा ल्याउन उत्पादनको प्रवर्द्धन र स्वदेशमै बजारको खोजी गर्नुपर्छ । मुलुक संघीय संरचनामा गएको अवस्थामा यसतर्फ तल्लो तहदेखि नै ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्