१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झाडी बन्दै तेह्रथुमका चिया बगान : पढेलेखेका ढोको छुँदैनन्, थोरै पढेका खाडी उड्छन्


845
Shares

तेह्रथुम । मजदुरको अभाव भएपछि जिल्लाका चिया किसान समस्यामा परेका छन् ।

तीन दशकदेखि चिया खेती गर्दै आएका किसानले मजदुरको अभावसँगै उत्पादित हरियो पत्तिको उचित मूल्य पाउन सकेका छैनन् ।

चिया खेती विस्तार र प्रवर्द्धनमा सरकारी उदासीनताका कारण जिल्लाका १ हजार २ सय बढी किसान अहिले समस्यमा परेका छन् ।

हरियो पत्तिको उत्पादनमा समस्या, मूल्यमा गिरावट, मजदुरको अभाव, चिया खेतीमा लाग्ने रोगका कारण किसान चिन्तित बन्दै गएका हुन् । अन्नबाली मासेर चिया खेतीमा लागेका उनीहरू खेतीसमेत फस्टाउन नसकेपछि मर्कामा परेका हुन् ।

युवाहरू वैदेशिक रोजगारमा जाँदा चिया खेतीमा मजदुर अभाव भएको छ । जसकारण अधिकांश बगानहरू झाडीमा रुपान्तरित भएका छन् । पढेलेखेका र थोरै पढेकाहरू शहर र विदेश जाँदा कामदार नपाइएको स्थानीयको गुनासो छ ।

चिया खेतीमा बढी मजदुर आवश्यक भए पनि गाउँमा मजदुर नपाउँदा समस्या भएको चिया विस्तार आयोजना कार्यालयले जनाएको छ ।

चिया खेतीबाट सोचेजस्तो आम्दानी नभए पछि धेरै किसानले खेती लगाउनै छाडिसकेको चिया विस्तार आयोजना सोल्मुका प्रमुख केन्द्रकुमार लिम्बु बताउनुहुन्छ ।

हरियो पत्ती उत्पादन गर्दै आएका किसानले तेह्रथुममा ४ हजार ९ सय ७६ रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । हरियो पत्ती बिक्रीबाट जिल्लाका साना किसानले बार्षिक १ करोड भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

यद्यपि चियामा रोगलाग्दा उपचारका लागि दक्ष प्राविधिक नहुँदा उनीहरूले लगाएको चिया सखाप हुन थालेको छ । पटक–पटक कृषिज्ञान केन्द्रलाई जानकारी गराउँदा पनि कृषि प्राविधिक उपलब्ध नगराएको उनीहरूको गुनासो छ ।